नेपाल छिमेकी देशको सम्पन्नताबाट लाभ लिन चाहन्छ


सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी देशको सम्पन्नताबाट नेपालले लाभ लिन चाहेको बताएकी छन् ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङसँग मन्त्रालयमा शुक्रबार भएको दुई पक्षीय भेटवार्ताका क्रममा मन्त्री शर्माले नेपाल र नेपाली जनताको हितमा अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोगको सधैँ स्वागत गर्ने बताइन् । नेपाल र चीनबीच घनिष्ट छिमेकीको सम्बन्ध रहेको उल्लेख गर्दै उनले भनिन्, ‘सूचना र प्रविधिको क्षेत्रबाट समृद्धि हासिल गर्ने नेपालको प्राथमिकता भएकाले छिमेकीलगायत अन्तर्राष्ट्रिय समुदायबाट यसमा आउने सहयोग स्वागतयोग्य हुनेछ ।’

सूचना प्रविधिसँगै आम सञ्चारको क्षेत्रमा पनि चीनको सहयोग महत्त्वपूर्ण रहँदै आएको उनले उल्लेख गरिन्। उनले भनिन्, ‘पत्रकारिताको अध्ययन, ज्ञान र सीपको आदानप्रदानमा नेपाल र चीनको सहकार्य हुँदै आएको छ, यसमा अझै वृद्धि गर्नुपर्छ भन्ने लागेको छ ।’

आफूहरूले आफ्नै भूउपग्रहको विकास गर्ने, फोरजी इन्टरनेट सेवा देशव्यापीरूपमा विस्तार गर्दै फाइभजी सेवाको तयारी गर्ने, सूचना प्रविधि विश्वविद्यालय स्थापना गर्ने र सबै प्रदेशमा आइटी पार्क बनाउने प्राथमिकता निर्धारण गरेको उनको भनाइ छ ।

मन्त्री शर्माले प्रविधिको क्षेत्रमा सम्पन्नता हासिल गरिसकेका चीनसहित अन्तर्राष्ट्रिय समुदायले यसमा सहयोग गर्नसक्ने बताइन्। नेपाल सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत सूचना प्रविधि, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकताको क्षेत्र निर्धारण गरेको पनि उनले स्मरण गराइन् ।

विकासोन्मुख र भूपरिवेष्ठित राष्ट्र नेपालमा सूचना प्रविधिबाट आर्थिक सम्पन्नता हासिल गर्न सकिने विश्वास वृद्धि हुँदै गएको उल्लेख गर्दै उनले यस क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि सम्पन्न देशसँग ज्ञान र सीपको आदानप्रदान गर्न चाहेको बताइन्। सूचना प्रविधिसँग सम्बन्धित चीनका धेरै कम्पनीले नेपालमा काम गरिरहेको चर्चा गर्दै उनले यसको गुणस्तरमा पनि ध्यान दिनुपर्नेमा जोड दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *