सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अप्ठ्यारो अवस्थामा


उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सत्ता र सम्पत्तिका लागि जे पनि गर्नेहरूका कारण देश अहिलेको अवस्थामा पुगेको बताएका छन् ।

वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको बाह्रौँ कृति ‘कालपात्र’ सार्वजनिक गर्दै श्रेष्ठले भ्रष्टाचार र कमिसनको नेक्ससलाई तोडेर मात्र देश बनाउन सकिने बताए ।

“अहिले जीवन मूल्यमा ह्रास भएको छ, स्वार्थका निम्ति राज्यद्रोह गर्ने मानिस छन्,” श्रेष्ठले भने, “यस्तो अवस्थामा सफा राजनीतिले मात्र देशलाई परिवर्तन गर्न सक्छ ।”

उनले पार्टी र नेताहरू नबदलिएसम्म देशको अवस्थामा सुधार नआउने पनि बताए ।

“पुस्तकमा लेखकको आशय पनि यही छ,” मन्त्री श्रेष्ठले भने, “संसारका सुन्दरतम देशमध्ये औँलामा गन्न सकिनेमा नेपाल पनि पर्छ । तर, हामी अदक्ष कामदार खाडीमा पठाएर तिनले पठाएको विप्रेषणले देश चलाइरहेका छौँ ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा हुँदा आफूले कर्मचारी राखेर मात्र निर्माण व्यवसायीसँग कुरा गर्ने गरेको प्रसंग निकाल्दै श्रेष्ठले यस्ता कामको सुरुवात नगरी नयाँ मूल्य स्थापित नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *