नेताहरुले देश र जनतालाई प्रयोगशाला बनाए : मनोज गजुरेल
कलाकार मनोज गजुरेल राजनीतिक दल र नेताहरुले देश र जनतालाई प्रयोगशाला बनाएको बताएका छन् । राजनीतिक दल र नेताहरुले जनतालाई प्रयोग गरिरहेको उनको टिप्पणी छ ।
“जो आउँछ देश र जनतालाई प्रयोग गरेर जान्छ । पार्टीको आन्तरिक किचलो मिलाउन नसक्दा जनमतमाथि नै प्रहार गर्ने काम भयो,” मनोज भन्छन्, “व्यवस्था र परिवर्तनप्रति नै दलहरुले जनतालाई निराश बनाउने काम गरे ।” जनताको आशा र अपेक्षामाथि नै कुठाराघात भएको उनको कथन छ।
“घरभित्रको झगडामा छिमेकबाट गुण्डा ल्याएर कुटाउने कार्यजस्तो भयो । भारत र चीनलाई आन्तरिक मामिलामा घुसाउने प्रवृत्तिले नेपाललाई कहिले उँभो लाग्न दिएन,” मनोज भन्छन्, “चुनाव केका लागि गर्ने, जनमत केका लागि लिने । जनताले विश्वास कसको गर्ने ?”
“राजाको शासन र जनयुद्ध पनि भोगेका जनताले राजनीति अस्थिर भयो भनेर बहुमतको स्थिर सरकारका लागि मतदान गरेका हुन्,” मनोज भन्छन्, “तर यहाँ त कोभिडले आक्रमण गरे भन्दा पनि खतरा त राजनीतिक अस्थिरताको आक्रमणले गर्नेभयो ।”