गम्भीर आरोप लागेपछि जुनसुकै व्यक्ति भए पनि जिम्मेवारीबाट निलम्बन गरिनुपर्छ


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने बताएका छन्।

उनले सामाजिक सञ्जालमा यो प्रकरणबारे धारणा सार्वजनिक गर्दै यस्तो मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसु्कै तहमा रहेको व्यक्ति भए पनि आफै जिम्मेवारीबाट अलग रहनुपर्ने र त्यसो नभएमा पार्टीले निलम्बन गर्नुपर्ने बताएका हुन्।

उनले भनेका छन्,  ‘यति गम्भीर आरोप लागिसकेपछि मुद्दाको अन्तिम किनारा नलागेसम्म जुनसुकै तहको जिम्मेवारीमा रहेको व्यक्ति स्वतः पार्टीको जिम्मेवारीबाट अलग रहनुपर्छ, अन्यथा पार्टीले निलम्बन गर्नुपर्छ।’

महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवा, पदाधिकारीहरुसँगको बैठक र सार्वजनिक मञ्चहरुमा पनि यो विचार राख्ने गरेको बताएका छन्। उनले फौजदारी अभियोग र भ्रष्टाचारको मुद्दा लागेको व्यक्ति अनुसन्धानमा आएपछि सार्वजनिक पदबाट स्वत: निलम्बन हुनुपर्ने र त्यस्तो व्यक्ति स्वयंले नगरे पार्टीले निलम्बन गर्नुपर्ने बताएका छन्।

उनले भनेका छन्, ‘पदमा भएको व्यक्तिले आफूलाई त्यसबाट अलग राख्नुपर्छ अन्यथा सम्बन्धित निकायले अलग गराएर स्वतन्त्र अनुसन्धानको मार्ग प्रशस्त गर्नुपर्छ।’महामन्त्री थापाले अनुहारमा दाग लागिसकेपछि आफ्नै अनुहार पुछ्नुपर्ने तर ऐना सफा गर्दैमा नहुने भएकाले आरोप लागिसकेपछि जिम्मेवारीबाट अलग हुन सुझाव दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *