युवा संघ नेपालद्वारा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन
मुलुकमा शान्ति सुरक्षा कायम गर्न नसकेको र अयोग्य लडाकुलाई अनावश्यक रकम दिन लागिएको भन्दै नेकपा (एमाले)निकट राष्ट्रिय युवा संघका नेता–कार्यकर्ताले प्रधानमन्त्रीको पुतला दहन गरेका छन् ।
शनिबार काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गर्दै उनीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पुतला दहन गरेका हुन् । अयोग्य लडाकुलाई दुई लाख रुपैयाँका दरले राहत दिने गरी ल्याइएको कार्यविधि तत्काल खारेज गर्न उनीहरूले दबाब दिए ।
अयोग्य लडाकुका नाममा राजनीतिक अभिष्ट पूरा गर्ने गरी ल्याइएको कार्यविधि तत्काल खारेज नगरे आन्दोलनको आँधीबेहरी सिर्जना गरी सरकारलाई घुँडा टेकाउन बाध्य हुने युवा संघका अध्यक्ष क्षितिज थेबेले चेतावनी दिए ।
“आम नेपालीहरूको छातीमा बज्रपात गर्दै, देशको ढुकुटी रित्याउँदै, देशको ढुकुटीलाई नीतिगत भ्रष्टाचार गरेर पार्टीलाई अर्बाैँ रकम खन्याउने, लडाकुको नाममा एउटा व्यक्ति पोस्ने, अर्बौँ घोटला गर्ने र आफ्नो घृणित राजनीतिको अभिष्ट पूरा गर्ने योजनाले यो सरकार अगाडि बढेको छ,” उनले भने, “यो अयोग्य लडाकुहरूको नाममा अर्बौँ घोटला हुने गरी ल्याइएको कार्यविधि फिर्ता हुँदैन, खारेज हुँदैन, तबसम्म यो सरकारलाई हामीले आज ध्यानाकर्षण गराएका छौँ ।