उपनिर्वाचनले कांग्रेस सच्चिनुपर्ने सन्देश दियो : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभाको उपनिर्वाचनको परिणामले कांग्रेसलाई सच्चिएर अघि बढ्न सन्देश दिएको बताएका छन् ।
विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै नेता कोइरालाले भने, “उपनिर्वाचनमा पुराना पार्टीलाई भोट नगएर नयाँ पार्टीलाई जानुले युवाको चाहनाअनुसार अहिलेका पार्टीहरू नचलेको पुष्टि भएको छ । युवाको भावनाअनुसार कांग्रेस अगाडि नबढेकै कारण अहिलेको अवस्था आएको हो ।”
कोइरालाले उपनिर्वाचनको मतपरिणाम हेर्दा कांग्रेस सच्चिनु जरुरी भन्दै अब युवाहरूलाई अवसर दिँदै जिल्लादेखि स्थानीय तह, वडा र टोलसम्म संगठन गर्नुपर्नेमा जोड दिए । “मतदाता र युवाको मनोविज्ञान बुझ्न नसक्दा अहिलेको अवस्था आएको हो । अब कांग्रेस नयाँ ढंगले अगाडि बढ्नै पर्छ,” उनले भने ।
नेता कोइरालाले उपनिर्वाचनको मतपरिणामलाई लिएर पार्टीभित्र निर्मत समीक्षा हुने र हारको दोष एकजनामाथि थोपरेर अरु उम्किने अवस्था नरहेको स्पष्ट गरे ।उनले भने, “हारको जिम्मेवारी सबैले लिनुपर्छ ।” कोइरालाले देशको अर्थतन्त्र अत्यन्तै अफ्ठ्यारो अवस्थामा रहेको भन्दै यसको सुधारका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।