साझा नीति तथा कार्यक्रममा हस्ताक्षर भएपछि मात्रै सरकारले पूर्णता पाउँछ
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकारको साझा नीति तथा कार्यक्रममा हस्ताक्षर भएपछि मात्रै सरकारले पूर्णता पाउने बताएका छन् ।
आइतबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले गठबन्धनका दलहरूका बिचमा सरकारको साझा नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल भइरहेको बताए ।
उनले सरकारको साझा नीति तथा कार्यक्रमा हस्ताक्षर भएसँगै सोही मान्यताका आधारमा सरकारले पूर्णता पाउने बताए ।
“आज बल्ल हामी अहिलेको सरकारको जुन नितिगत प्रतिबद्धता हो, साझा नीति र कार्यक्रम अगाडी सार्नुपर्ने, त्यसको निम्ति छलफल भइराखेको छ । छलफल भएर टुंगो लाग्ला । त्यो कागजमा हस्ताक्षर होला । त्यही वैचारिक मान्यता, त्यही नितिगत मान्यता, त्यही कार्यक्रमको मान्यताको आधारमा नै सरकारले पूर्ण आकार प्राप्त गर्नेछ,” उनले भने ।
अध्यक्ष नेपालले आफ्नो पार्टीले गृह, अर्थ र परराष्ट्र मन्त्रालयको दाबी नगरेको पनि बताए । उनले देशको अर्थतन्त्रको समस्यालाई राम्ररी बुझेको र समस्याको समाधान दिनसक्ने व्यक्तिलाई अर्थमन्त्री बनाउन आफूले प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।
“मैले के भनेको छु भने अर्थ मन्त्रालय यस्तो व्यक्तिलाई दिनुस्, जसले देशको अर्थतन्त्रका समस्याहरूलाई राम्ररी बुझ्न सकेको छ । र समस्याको कारणहरू पत्ता लगाउन सक्दछ ।