लोकतन्त्रमा व्यक्तिगत फोन ट्यापिङ स्वीकार्य छैन


नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले लोकतन्त्रमा व्यक्तिगत फोन ट्यापिङ स्वीकार्य नहुने बताएका छन् ।

सरकारले ल्याउन लागेको दुरसञ्चार विधेयकमा सरकारी अधिकारीले नै व्यक्तिको फोन ट्याप गर्ने प्रावधान राखेको समाचार सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन् ।

“लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन,” डा. कोइरालाले भनेका छन्, “विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि वढाउनुले सरकारको नियतमाथि प्रश्न उठेको छ ।” उनले नागरिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग जोडिएको विषयमा राजनीतिक दल, मानवअधिकारकर्मी र नागरिक समाजको ध्यानाकर्षण गरेका छन् ।

“राष्ट्रिय सुरक्षासँग जोडिने यस्ता कार्यप्रति दल, मानवअधिकारकर्मी, नागरिक समाज र प्रेस जगतको समेत ध्यान जाओस,” कोइरालाले भनेका छन् ।

सरकारले नागरिकका व्यक्तिगत फोन सरकारी अधिकारीले नै ट्याप गर्ने र उनीहरूले नै फोन नचल्नेसम्म बनाउन सक्ने प्रावधानसहितको मस्यौदा तयार पारेको समाचार सार्वजनिक भए पछि कोइरालाले यस्तो प्रतिक्रिया जनाएका हुन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भने तयार भएको मस्यौदा अन्तिम नभएको भन्दै नेपाल दुर सञ्चार प्राधिकरण र सरोकारवालाको परामर्शपछि मात्र यसको टुंगो लाग्ने बताएको छ । “अहिले एउटा मस्यौदा तयार भएको हो । यसलाई तयार पारेर ल्याउन मन्त्रिपरिषद्ले स्वीकृति पनि प्रदान गरेको हो,” सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बाह्रखरीसँग भने, “तर, अहिले प्रारम्भिक मस्यौदा मात्र तयार भएको हो । एनटीए (नेपाल दुरसंचार प्राधिकरण) सँग सुझाव लिन बाँकी नै छ । अन्य सरोकारवालासँग पनि सुझाव लिएपछि बल्ल अन्तिम मस्यौदा तयार हुन्छ ।”

उनले सूचना प्रविधिको विकासले केही कुरा परिवर्तन आवश्यक भएकाले नयाँ प्रावधान आउने भए पनि त्यो मन्त्रालय एक्लैले निर्णय गर्ने विषय नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *