देशभर सामान्यदेखि पूर्ण बदली, हल्कादेखि मध्यम वर्षा हुने
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी तथा असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
विभागले आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । देशको पहाडी भू–भागका थोरै स्थानमा तथा तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ ।