‘पशुपति प्रसाद-२ : भष्मे डन’ चैत १० गतेबाट छायांकन हुँदै
निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने चलचित्र ‘पशुपति प्रसाद–२ : भष्मे डन’को शुभमुहूर्त गरिएको छ । शुक्रबार पशुपतिनाथ मन्दिर परिषरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै चलचित्रको शुभमुहूर्त गरिएको हो । चलचित्रको शुभमुहूर्त समारोहमा निर्देशक दीपेन्द्र के खनालदेखि कलाकारसम्म उपस्थित थिए ।
चलचित्रमा विपीन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँ, मिश्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय रहनेछ ।चैत १० गतेबाट छायांकन सुरु हुने चलचित्रलाई खगेन्द्र लामिछानेले लेखेका हुन् । निर्माता पनि उनी स्वयं हुन् ।
चलचित्र ‘पशुपति प्रसाद’को मुख्य चरित्रमध्येको एक विपीन कार्कीले निर्वाह गरेको भष्मे डनमा केन्द्रित रहेर निर्माण हुन लागेको हो ।निरज कँडेलको डीओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहने चलचित्र टुकी आर्टस्को ब्यानरमा निर्माण हुनेछ ।
आउँदो दसैंमा चलचित्र प्रदर्शनमा आउनेछ ।