माओवादीलाई बाहिर राखेर एमालेसँग कांग्रेसको सहकार्य हुँदैन
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पदको लोभका कारण पुस १० गते कांग्रेस सहितको गठबन्धन भत्किएको स्वीकार गरेका छन्। शुक्रबार ललितपुरको बाडेगाउँस्थित पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको सालिक दर्शन गर्दै उनले सहमति कार्यान्वयन हुन नसक्दा तत्कालीन गठबन्धन भत्किएपनि आन्तरिक रुपमा सच्याएर अघि बढेको दावी गरे।उपसभापति खड्काले पुस १० गतेपछि नै आफूसहित पार्टीले एजेण्डामा सहमति भएका दलहरुबीचमा आन्तरिक रुपमा सूक्ष्म तरिकाले विभिन्न चरणमा संवाद अघि बढाउँदै लैजानुको परिणाम बिहीबार राष्ट्रपति पदमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको बताए।
उनले भने, ‘नेपाललाई रुपान्तरण गर्ने, स्थायी शान्तिको जगमा सबै दलहरु मिलेर मुलुकको आर्थिक उन्नति र प्रगतिको लागि बेगमा मुलुकलाई लैजाने संकल्प गरेर गएका थियौँ। तत्कालीन गठबन्धनको बहुमत पुग्नेगरी मत परिणाम पनि आयो। दुर्भाग्यवश, पुस १० गते एजेण्डाहरुमा सहमत भएका दलहरु पदको कारणले गठबन्धन भत्कियो। त्यसै दिनदेखि पनि हामीले एजेण्डामा सहमति भएका दलहरुबीचमा आन्तरिक रुपमा सूक्ष्म तरिकाले विभिन्न चरणमा संवाद हुँदै गयो । र अन्ततोगत्वा यो परिस्थिति बन्यो।’ उपसभापति खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भए पनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताए। अब छिट्टै नै गठबन्ध्नको बैठक बसेर औपचारिक निर्णय गर्ने बताउँदै उनले दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने दावी गरे।
खड्काले कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रेसले सहमति गर्ने कुरा सपनामा पनि नसोच्न आग्रह गरे।