नामकरण भएको खुसीमा कोसी प्रदेशमा आज सार्वजनिक बिदा


धेरै लामो विवादपछि नामाकरण गर्न सफल भएको ‘खुसीयाली’मा कोशी प्रदेश (साविक प्रदेश १)मा आज (बिहीबार) सार्वजनिक बिदा दिइएको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आज (बिहीबार)का लागि सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ।

बुधबार मात्रै प्रदेश १ ले आफ्नो प्रदेशको नाम ‘कोशी’ राखेको थियो। बुधबार बसेको प्रदेश सभा बैठकले सो प्रदेशको नाम ‘कोशी प्रदेश’ हुने टुंगो लगाएको हो।

एमालेका सांसद रामबहादुर राना मगरले प्रस्ताव गरेको कोशी प्रदेशमा आवश्यक दुई तिहाइ मत जुटेपछि सोही नाम पारित भएको हो। एमालेको सो प्रस्तावलाई कांग्रेस र माओवादी केन्द्रले समेत साथ दिएका थिए।बुधबार भएको मतदानमा प्रस्तावको पक्षमा ८२ मत परेको थियो। यस्तै विपक्षमा ४ मत परेको छ भने ६ जना सांसद अनुपस्थित भएका थिए।

एकीकृत समाजवादीका सांसद राजेन्द्रकुमार राईले प्रस्ताव गरेको लिम्बुवान-किराँत- सगरमाथा प्रदेशमाथि भने छलफल नै हुन सकेन। छलफलको प्रस्ताव नै अस्वीकृत भएको थियो। सो प्रस्तावको पक्षमा एकीकृत समाजवादी र जसपा उभिएका थिए।७ मध्ये ६ वटै प्रदेशले प्रदेश सभाको पहिलो कार्यकालमै नाम टुंगो लगाइसकेको भए पनि प्रदेश १ को भने बाँकी थियो। प्रदेश सभाको दोस्रो कार्यकालमा यो प्रदेशले पनि नाम टुंगो लगाएपछि अब सातै प्रदेशले नाम पाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *