७१ लाख अवैध रकमसहित एक भारतीय पक्राउ
अवैध रकमको कारोबार गरेको आरोपमा एक भारतीय नागिरक पक्राउ परेका छन् । काठमाडौंको बल्खुमा फलफूल व्यवसायमा संलग्न हुण्डी कारोबारमा संलग्न एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको हिमाचल प्रदेशस्थित सिमलाथाना घर भई कुलेश्वर ‘माँ चामुण्डा फ्रुट सेन्टर’ सञ्चालन गर्दै आएका ४९ वर्षीय विजय कुमार गुप्ता रहेको प्रहरीले जनाएको छ । उनको साथबाट हुण्डी गर्ने प्रयोजनको लागि सङ्कलन गरेको नगद ५७ लाख र १४ लाख ८० हजार रकम बराबरको ३ थान चेक गरी जम्मा ७१ लाख ८० हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
कुलेश्वरमा हुण्डी कारोबार हुने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । गुप्ता यसअघि पनि २०७५ साल साउन ७ गते भारतीय रुपैयाँ २ लाख र ३१ लाख नेपाली रुपैयाँसहित पक्राउ परेर छुटेका थिए । उनलाई नेपाल राष्ट्र बैक ऐन २०५८ को दफा ९५ बमोजिम आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।