बुटवल-पाल्पा सडकखण्ड १५ दिनसम्म दैनिक ८ घण्टा बन्द हुने
बुटवल–पाल्पा सडकखण्ड दैनिक ८ घण्टा बन्द हुने भएको छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डअन्तर्गत दोभान–चिडियाखोला खण्ड दैनिक ८ घण्टा बन्द हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालयमा बसेको राजमार्ग सुरक्षा समितिको बैठकले फागुन १३ गते शनिबारदेखि दिउँसो र रातिको समयमा सिद्धार्थ राजमार्ग बन्द गर्ने निर्णय गरेको हो ।
सुरुङमार्ग पूर्वतयारीका लागि वैकल्पिक सडक व्यवस्थापन गरेर बिहान ११ बजेदेखि २ बजेसम्म र रातिको समयमा १० बजेदेखि ३ बजेसम्म सडक बन्द हुने प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।सिद्धबाबामा सुरुङमार्ग निर्माण कार्यको पूर्व तयारीको काम रामापिथेकस पार्क नजिक डाइभर्सन निर्माण गर्न तत्कालका लागि १५ दिन राजमार्ग बन्द गरेर काम गर्न दिइने उनले बताए । आकस्मिक रूपमा यात्रा गर्नुपर्ने र हलुका सवारी साधनहरूका लागि दोभानदेखि नुवाकोट हुँदै बेलबास निस्कने सडकको स्तरोन्नती गरेर मात्र राजमार्ग बन्द गर्न दिइने उनको भनाइ छ ।आयोजना प्रमुख होमबहादुर एसीका अनुसार सिद्धबाबामा सुरुङमार्ग निर्माणको जिम्मा पाएको कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले तत्काल सडकमा स्तरउन्नति गर्ने सहमति भएको छ ।