उत्तर कोरियाद्वारा लामो दूरीको क्षेप्यास्त्र परीक्षण
उत्तर कोरियाले लामो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले शुक्रबार अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
यसअघि बिहीबारमात्र उत्तरले छोटो दूरीको क्षेप्यास्त्र परीक्षण गरेको बताइएको थियो । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार परीक्षण गरिएको क्षेप्यास्त्र जापानको तटबाट २ सय किलोमिटर टाढा गई खसेको थियो । जापानी अधिकारीहरुलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार यस क्षेप्यास्त्रले अमेरिकी मुख्यभूमिसम्म मार हान्ने क्षमता राख्दछ ।एसिया प्रशान्त आर्थिक सहयोग एपेकको सम्मेलनका लागि थाइल्याण्ड भ्रमणमा रहेकी अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षणको निन्दा गरेकी छिन् । उनीसँगै दक्षिण कोरिया, क्यानाडा, जापान, अष्ट्रेलिया, न्युजिल्याण्डका नेताहरुले पनि क्षेप्यास्त्र परीक्षणको निन्दा गरेको रोयटर्सले जनाएको छ ।