टोटनहामलाई हराउँदै लिभरपुल शीर्षमा आइपुग्यो
इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा साविक विजेता लिभरपुलले जीत निकालेको छ ।घरेलु मैदानमा भएको खेलमा लिभरपुलले टोटनहामलाई २-१ ले हराएको हो ।
लिभरपुलको जीतमा मोहमद सालाह र रोबर्टो फर्मिन्होले १-१ गोल गरेको थियो । टोटनहामका सन ह्युङमिनले १ गोल फर्काए ।खेलको २६औं मिनेटमा सालाहले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसको सात मिनेटमै टोटनहामका सनले बराबरी गोल फर्काएपछि पहिलो हाफ १-१ को बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा दुवै टोलीबाट अग्रता लिन गोलका प्रयासहरु भइरहेको बेला ९०औं मिनेटमा लिभरपुलका फर्मिन्होले गोल गरेपछि लिभरपुलको जीत सुनिश्चित भएको थियो ।
जीतसँगै १३ खेलबाट २८ अंक जोडेको लिभरपुल अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । टोटनहाम भने हारपछि २५ अंकमै सीमित रहँदै दोस्रो स्थानमा झरेको छ ।