निर्वाचनमा एकताबद्ध भएर लाग्न देउवाको निर्देशन


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरका कांग्रेसी कार्यकर्ताको गुनासो निर्वाचनपछि सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। मध्यपुरथिमीमा आज आयोजित कार्यकर्ता भेटघाटमा सभापति देउवाले गठबन्धनको बाध्यताका कारण भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा (२) अन्य दललाई दिनुपरेको बताउँदै त्यसको क्षतिपूर्ति निर्वाचनपछि सम्बोधन गर्ने बताए ।

सभापति देउवा थिमीको शङ्खधर चोकमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको माल्यार्पण कार्यक्रमका लागि थिमी आएका थिए । सो कार्यक्रमपछि उनी कार्यकर्ता भेटघाटका लागि नजिकको पार्टी प्यालेस पुगेका थिए ।

सभापति देउवाले गठबन्धन सरकार भएकाले निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिएर जानुपरेको र त्यसैका कारण कांग्रेस एक्लैले जित्ने केही क्षेत्र गठबन्धनमा रहेका सहयात्री दललाई छाड्नुपरेको स्पष्ट पारे । उनले उपस्थित नेता, कार्यकर्तालाई गठबन्धनको बाध्यता बुझेर निर्वाचनमा एकताबद्ध भएर लाग्न र गठबन्धनका उम्मेदवारलाई जिताउन निर्देशनसमेत दिए।

उनले गठबन्धनका तर्फबाट भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका दुर्लभ थापालाई निर्वाचन जिताए निर्वाचनपछिको सरकारमा मन्त्री बनाउने आश्वासनसमेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *