ओलीले मागे गृहमन्त्रीको राजीनामा,नागरिकतामा धेरै राजनीति नगर्न चेतावनी
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन् । गैरआवासीय नेपाली संघ २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिवाद नगर्ने संस्थामाथि सरकारकै मन्त्रीबाट प्रहार हुन लोकतन्त्रविरोधी भएको भन्दै प्रधानमन्त्रीले लोकतन्त्र रक्षाका लागि भएपनि गृहमन्त्रीको राजीनामा माग्नुपर्ने बताए ।
“…वास्तवमा भन्ने हो भने त्यस टिप्पणी भन्दा पछि अलिकति लोकतान्त्रिक संस्कृति हुन्थ्यो भने प्रधानमन्त्रीले उहाँको राजीनामा मागिसक्नुपर्दथ्यो । उहाँले राजीनामा गर्नुपर्दथ्यो । त्यस्तो कल्चर हुँदैन,” उनले भने ।उनले गैरआवासीय नेपाली संघमा गएर राजनीति गरी राष्ट्रपतिमाथि अनैतिक आरोप लगाउनु गलत भएको बताए । अध्यक्ष ओलीले मञ्चको दुरुपयोग गरी गृहमन्त्रीले राष्ट्रपतिको सम्बन्धमा अनर्गल आरोप लगाएको बताए ।
उनले राष्ट्रपति संस्था प्रतिवाद गर्ने संस्था नरहेको उल्लेख गर्दै प्रतिवाद नगर्ने संस्थाको सन्दर्भमा सार्वजनिक टिप्पणी गर्नु गम्भीर गल्ती भएको बताए ।
“हिजो गृहमन्त्रीजीले यस मञ्चको प्रयोग होइन दुरूपयोग गरेर सम्माननीय राष्ट्रपतिज्यूको सम्बन्धमा जो अनर्गल भन्नुभयो, त्यो बहुतै गम्भीर विषय हो । सरकारको मन्त्रीले राष्ट्रपतिका सन्दर्भमा, कहीँ पनि राष्ट्रपतिसँग सहमत छैन, यसै त राष्ट्रपतिको हतपत आलोचना गरिँदैन । किनभने राष्ट्रपति हतपत बोलिरहँदैन । राष्ट्रपतिले प्रतिवाद गर्दैन । प्रतिवाद नगर्ने संस्थाको सन्दर्भमा सार्वजनिक टिप्पणी गरिँदैन,” ओलीले भने ।
अध्यक्ष ओलीले नागरिकताको बारेमा धेरै राजनीति नगर्न पनि चेतावनी दिए । उनले नागरिकतासम्बन्धी विषयमा डिबेट गर्न आफूसँग आउन सत्ता गठबन्धनलाई चुनौती दिए ।