सिटिजन्स बैंकले कात्तिक ४ गते बोलायो साधारणसभा
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले कात्तिक ४ गते १६औं वार्षिक साधारण सभा बोलाएको छ । वाणिज्य बैंकहरूमध्ये सबैभन्दा पहिला लाभांश प्रस्ताव गरेको यस बैंकले साधारण सभा समेत सबैभन्दा पहिला गर्न लागेको हो । बैंकको असोज १२ गतेको सञ्चालक समितिको बैठकले अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।
यस वर्ष बैंकले कर समेत ९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । हाल बैंकको चुक्तापूँजी रू. १४ अर्ब २० करोड ९ लाख ७४ हजार रहेको छ । सोही पूँजीको आधारमा रू. १ अर्ब २७ करोड ८० लाख बराबरको नगद लाभांश बैंकले वितरण गर्न लागेको हो । लाभांश वितरणको प्रस्तावलाई समेत सभाले वितरणयोग्य बनाउनेछ ।
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने योजना समेत बैंकले अघि सारेको छ । आगामी दिनमा मर्जर तथा प्राप्ती प्रकृयामा जान आवश्यक देखिएमा सोको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ । साविक सिर्जना फाइनान्सलाई प्राप्ति गरे पश्चात् साविकको पूँजी संरचना संस्थापक तर्फको ५१ प्रतिशत र सर्वसाधारण तर्फको ४९ प्रतिशतलाई परिवर्तन भई संस्थापक तर्फ ५१ दशमलव ०७ प्रतिशत र सर्वसाधारणतर्फ ४८ दशमलव ९३ प्रतिशत कायम भएकाले सोही बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव समेत सभाले पारित गर्नेछ ।