सर्वसाधारणमा आईपीओ जारी गर्दै इष्टर्न हाइड्रोपावर
इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट पछि दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ विक्री गर्न लागेको हो ।
कम्पनीले पहिलो चरणमा प्रतिकित्ता रू. १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि बाँडफाँट गरी बाँकी रहेको ५० हजार ३१० कित्ता शेयर समेत जोडेर ६ लाख ७० हजार ३१० कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । कुल कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । यी वाहेक बाँकी ६ लाख २३ हजार ३८९ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।
सर्वसाधारणले सार्वजनिक निष्कासनमा आएको शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सक्नेछन् । यो शेयर छिटोमा कात्तिक १ गतेसम्म विक्री खुला हुनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि कात्तिक १४ गतेसम्म विक्री लम्बिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस नेपालले कम्पनीलाई समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाट क्षमताको पिखुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७६ साल जेठ २८ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । उक्त आयोजनाको निर्माण लागत कुल रू. १ अर्ब ३० करोड ५८ लाखभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत रू. २६ करोड ११ लाखभन्दा बढी छ । अधिकृत चुक्तापूँजी रू. ६२ करोड रहेको कम्पनीको चुक्तापूँजी रू. ४९ करोड ६० लाख रहेको छ । सर्वसाधारणमा आईपीओ बाँडफाँट पश्चात् कम्पनीको चुक्तापूँजी रू. ६२ करोड कायम हुनेछ ।
हाल कम्पनीमा संस्थापक तर्फको ८० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ भने स्थानियमा ९ दशमलव १९ प्रतिशत शेयर बाँडफाँट गरिसकेको कम्पनीले सर्वसाधारणमा १० दशमलव ८१ प्रतिशत शेयर वितरण गर्न लागेको हो । गत आर्थिक वर्ष ०७८÷७९ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी रू. १३ करोड ६४ लाखभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । सो अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ७२ दशमलव ४९ रहेको छ । चालू आर्थिक वर्ष ०७९÷८० भित्र भने कम्पनीले प्रतिशेयर नेटवर्थ रू. ८१ दशमलव ५८ पु¥याउने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षभित्र कम्पनीले सञ्चित नोक्सानी घटाएर रू. ११ करोड ४९ लाखमा झार्ने प्रक्षेपण समेत गरेको छ ।