सरकार विरोधी प्रदर्शन बाहिरबाट परिचालित : खामेनी
इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीले देशमा भएको व्यापक सरकार विरोधी प्रदर्शनको लागि अमेरिका र इजरायललाई दोष दिएका छन् ।
यसबारेमा पहिलो पटक सार्वजनिक टिप्पणी गर्दै सर्वोच्च नेता खामेनीले ‘दंगाहरू’ क्ष्रानका कट्टर शत्रुहरू र उनीहरूका सहयोगीहरूले ‘परिचालन’ गरेको बताए ।उनले थप अशान्तिको सामना गर्न सुरक्षा निकायलाई तयार रहन पनि आह्वान गरे । एक महिलाको हिरासतमा मृत्यु भएपछि फैलिएको विरोध प्रदर्शन एक दशकमा उनको सत्ताको सबैभन्दा ठूलो चुनौती बनेको छ ।
हिजाब नियम तोडेको आरोपमा नैतिकता प्रहरीले पक्राउ गरेको २२ वर्षीय महसा अमिनीको हिरासतमा मृत्यु भएको थियो । त्यसपछि इरानमा सरकार विरोधी आन्दोलन सुरु भएको थियो । आइतबारसम्म सुरक्षाकर्मीबाट १३३ जना मारिएका नर्वे आधारित इरान ह्युमन राइट्सले बताएको छ । इरानको सरकारी सञ्चारमाध्यमले सुरक्षाकर्मीसहित ४० जनाको मृत्यु भएको बताएको छ ।