फेवा तालको किनारमा नयां संरचना नबनाउन पोखराका मेयरको निर्देशन


पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवा तालको मापदण्ड मिचेर संरचना नबनाउन निर्देशन दिएका छन्। फेवातालको सिरानमाडाँडा खारेर पुरिएको सिमसार क्षेत्रको शनिबार अवलोकन गर्दै मेयर आचार्यले फेवातालको मापदण्डभित्र पर्ने गरी संरचना नबनाउन निर्देशन दिएका हुन्। यसअघि पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसी नेतृत्वको ५५ औं कार्यपालिकाको २०७८ चैत १६ गते बसेको बैठकले फेवातालको मापदण्ड ३० मिटर बनाउने निर्णय गरेको थियो। तर, सर्वोच्च अदालतले गत असार १३ गते फेवातालको मापदण्ड ६५ मिटर नै कायम राख्न अन्तरिम आदेश दिएको थियो।

सर्वोच्च अदालतको आदेशलाई आधार मान्दै मेयर आचार्यले ६५ मिटरभित्र संरचना नबनाउन निर्देशन दिएका हुन्। ‘अटेर गरेर संरचना बनाए भत्काउँछौं। सीमसार क्षेत्र यसरी पुरिनु अत्यन्त दुखद छ,’ उनले भने, ‘यसरी भोलिको पुस्ताले ताल नै देख्न पाउँदैन। अब यस्तो हुन दिइने छैन।’महानगरले जग्गा वर्गीकरणको काम गरिरहेको भन्दै मेयर आचार्यले कृषियोग्य जमिन र सीमसार क्षेत्रको जमिनमा भौतिक संरचना नबनाउन निर्देशन दिए। ‘झुक्किएर पनि प्लटिङ गर्छु, व्यावसायिक प्रयोजन साथै आवास निर्माण गर्छु भन्ने नसोचे हुन्छ,’ उनले भने, ‘यहाँ  कृषि कर्म गर्न पाइन्छ। सीमसार क्षेत्रको संरचना बिगार्न पाइन्नँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *