बालअधिकार सुनिश्चित गर्न तीनै तहका सरकार र सरोकारवालाको समन्वयात्मक भूमिका जरुरी
राष्ट्रपति विद्यादेवी भण्डारीले अझै पनि बाँच्न पाउने, संरक्षण पाउने, विकास र सहभागिताकाे आधारभूत अधिकारबाट बञ्चित हुनु परेको अवस्था कायमै रहेको बताएकी छन् । राज्यबाट संवैधानिक‚ नीतिगत‚ कानुनी र संस्थागत प्रयास हुँदाहुँदै कतिपय बालबालिकाहरू अझै पनि यस्ताे अवस्था रहेकाे बताएकी हुन् ।
नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरी आवश्यक नीति‚ कानुन र संस्थागत संरचनाहरू निर्माण गरेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक एवं कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न तीनै तहका सरकार‚ गैरसरकारी संघसंस्था, नागरिक समाज, अभिभावक, विद्यालय लगायत अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिकाको आवश्यकता पर्ने बताएकी छन् । राष्ट्रपति भण्डारीले राष्ट्रिय बाल दिवस, २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली बालबालिका तथा अभिभावकहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दै बालअधिकारको सम्बन्धमा विद्यमान संवैधानिक र कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्दै सबैका लागि बालअधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी छन् ।