आगामी हप्ता राष्ट्रसङ्घका महासचिव गुटरेस पाकिस्तानको भ्रमणमा जाने
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस आगामी हप्ता पाकिस्तानको भ्रमणमा जाने भएका छन् ।
पाकिस्तानमा केही हप्ता यता जारी वर्षासँगैको बाढीपहिरोले पुर्याएको क्षतिका समयमा पाकिस्तानी सरकार र त्यहाँका नागरिकलाई सान्त्वना दिनका लागि महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानको भ्रमण गर्न लागेको उनका प्रवक्ताले जानकारी दिएका छन् ।उनी आगामी सेप्टेम्बर ९ मा पाकिस्तान पुग्ने उनका प्रवक्ता स्टेफन डुजारिकले जानकारी दिएका हुन् ।
महासचिव गुटरेसले पाकिस्तानमा बाढी र पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रको भ्रमण गर्नुहुने पनि उनले जानकारी दिए ।
पाकिस्तानका विभिन्न भागमा परेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर एक हजार एक सयभन्दा बढी मानिसको मृत्यु भएको छ ।