महासंघद्वारा सञ्चारसम्बन्धी कानुनहरू चाँडो टुङ्गोमा पुर्‍याउन सरकारको ध्यानाकर्षण


सञ्चारसम्बन्धी विभिन्न कानूनहरू टुंगोमा पुग्न नसकेकोप्रति नेपाल पत्रकार महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी ध्यानाकर्षण गराएको छ ।

मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानूनहरू चालू अधिवेशनमा नै टुंगोमा पुर्‍याउन पहल गर्न प्रधानमन्त्री देउवालाई महासंघको प्रतिनिधिमण्डले आज आग्रह गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा हाल मस्यौदाका रूपमा विचाराधीन अवस्थामा रहेका सञ्चारसम्बन्धी ती कानूनहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री हुनुपर्नेमा पनि महासंघले जोड दिएको छ ।

अहिले सञ्चारसम्बन्धी कानुन नहुँदा विद्युतीय कारोबार ऐनलगायतका विभिन्न कानूनहरू आकर्षित गरी पत्रकारलाई दुःख दिने काम गरिएकोप्रति महासंघले चिन्ता प्रकट गरेको छ ।

भेटघाटका क्रममा प्रधानमन्त्री देउवाले महासंघले उठाएका र राखेका मागहरूलाई सकारात्मक रूपमा लिई तत्काल टुंगोमा पुर्‍याउनका लागि पहल गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई फोनमार्फत निर्देशन दिएका थिए ।भेटमा महासंघका तर्फबाट अध्यक्ष विपुल पोख्रेल, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट र महासचिव रोसन पुरीलगायतको सहभागिता रहेको थियो । प्रतिनिधिसभा भंग हुनु अगावै सञ्चारसम्बन्धी कानूनका विषयलाई टुंगोमा पुर्‍याउन पहल गर्नका लागि सभामुख अग्निप्रसाद सापकोटालाई पनि भेटेर ध्यानाकर्षण गराउने महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *