महेश बस्नेतले भने-मेरो चरित्र हत्या भयो, कानुनी प्रक्रियामा जान्छु
नेकपा एमालेका सांसद महेश बस्नेतले आफ्नो चरित्र हत्या गरेको भन्दै कारबाहीका लागि कानुनी प्रक्रियामा जाने बताएका छन्।
बस्नेतको सामाजिक सञ्जालमा उनका स्वकीय सचिव दिनेश थापाले एक पोस्ट गर्दै उक्त चरित्र हत्या गर्ने काम भएकाले कारबाहीका लागि कानुनी प्रक्रियामा जाने बताएका हुन्।
नेकपा एमालेका नेता महेश बस्नेतलाई नेकपा माओवादी केन्द्रको भातृसंगठन वाइसिएलका युवाहरुद्वारा भौतिक आक्रमण गरेको भनि झुटो प्रचार गरिएकाले त्यसप्रति गम्भीर आपत्ति जनाउँदै कारबाहीको प्रक्रियामा जाने बताइएको छ।
‘गएको स्थानीय चुनावमा सिन्धुपाल्चोक चौतारा नगरपालिकामा माओवादीका तर्फबाट मेयरको टिकट कृष्ण प्रसाद सापकोटालाई दिएपछि मनोनयन दर्ता गर्न जाने क्रममा माओवादी कै निवर्तमान मेयर अमान सिंह तामाङ पक्षका कार्यकर्ताबीच भएको विवादको भिडिओलाई माओवादी केन्द्रका अराजक तत्वहरु केशव थुलुङ्ग, एसपी रेग्मी लगायतले सामाजिक सञ्जालको दुरुपयोग गरी नेकपा एमालेका नेता महेश बस्नेतलाई नेकपा माओवादी केन्द्रको भातृसंगठन वाइसिएलका युवाहरुद्वारा भौतिक आक्रमण गरेको भनि झुटा प्रचार गरिएकोमा हाम्रो गम्भीर आपत्ति रहेको छ।’
उनले उक्त भिडिओमा कुनै सत्यता नभएकाले त्यसमा विश्वास नगर्न शुभचिन्तक र कार्यकर्तालाई अपिल गरेका छन्। त्यसरी झुटो आरोप लगाएर चरित्र हत्या गर्न खोज्नेविरुद्ध साइबर क्राइममा जानकारी गराइ कानुनी प्रक्रियामा अघि बढ्ने बताएका छन्।