सातै प्रदेशमा वर्षाको सम्भावना, यातायात सेवा प्रभावित हुन सक्ने
आगामी तीन दिनसम्म वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनअनुसार शनिबार रातिसम्मै देशका विभिन्न भागमा वर्षा हुनेछ।
हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा र पूर्वतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको महाशाखाले जनाएको छ।
अहिले बिहान देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रही बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश र मधेश प्रदेशका एक-दुई स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।वर्षाको सम्भावना रहेका प्रदेशका भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने भएकाले यातायात सेवा प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।