चलचित्र ‘प्रकाश’को वर्ल्ड प्रिमियर जुम्लाको तिर्खु गाउँमा हुने
जुम्लामै छायाङ्कन भएको चलचित्र ‘प्रकाश’ को प्रिमियर शो यहाँको पातारासी गाउँपालिकाको दुर्गम गाउँ तिर्खुमा गरिने भएको छ। यही भदौ १० गतेदेखि प्रदर्शनमा आउने प्रकाश चलचित्रको प्रिमियर जुम्लामा हुने भएपछि यहाँका स्थानीयवासीले गाउँमै चलचित्र हेर्ने भएका छन्।
झण्डै २ घण्टा समयावधि रहेको सो चलचित्र ४५ दिन लगाएर गत वर्ष चैत र वैशाखको महिनामा पातारासीको तिर्खु गाउँमा छायाङ्कन गरिएको थियो। प्रिमियर शोका लागि चलचित्रका नायक प्रदीप खड्का र कथा लेखक विकास सुवेदीले आइतवार जुम्ला पुगेका थिए।
चलचित्र प्रकाश प्रदर्शनमा नआउँदै ७५ प्रतिशत लगानी सुरक्षित भएको चलचित्र निर्माताको दाबी छ। चलचित्र निर्माणमा झरु दुई करोड ५० लाख बजेट लगानी भएको छ।
कथा लेखक सुवेदीले भने, ‘चलचित्र, भारत, अमेरिका, जापान, अस्ट्रेलियालगायत दर्जनौँ देशमा एकैसाथ प्रदर्शन हुँदैछ। गीत, ट्रेलरबाट राम्रो प्रतिक्रिया आएको छ। हालसम्म ७५ प्रतिशत लगानी सुरक्षित हुने गरि विभिन्न देशमा टिकट बुकिङ भइसकेको छ। यो फिल्म घाटा नजानेमा ढुक्क छौँ।’
साथै अस्ट्रेलियाबाट चलचित्र प्रदर्शनबाट उठेको रकम पातारासीको ऋणमोक्ष माविको शैक्षिक विकासका लागि सहयोग प्रदान गरिने फिल्म टिमले जनाएको छ।