नागरिकता विधेयक राष्ट्रपतिकहाँ राति १२ बजेपछि पठाऔँ :गजेन्द्रबहादुर महत
नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रबहादुर महतले नागरिकता विधेयक राष्ट्रपतिकहाँ राति पठाउन सुझाव दिएका छन् ।
आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै महतले अघिल्लो सरकारका निर्णयहरु राष्ट्रपतिबाट राति नै प्रमाणित भएको भन्दै त्यस्तो व्यङ्ग्यात्मक सुझाव दिएका हुन् ।
“नागरिकता विधेयक पुनः राष्ट्रपतिकहाँ पठाउनुपर्ने होला । राष्ट्रपति कार्यालयमा पठाउँदा दिउँसो पठाउनुभएन, राति पठाउनुपर्यो,” उनी भन्छन्, “अफ्ठ्यारा कामहरु राति नै फत्ते हुन्छन् । प्रमाणीकरण गर्नुपर्ने होला । त्यसो भएकाले मन्त्रीज्यू दिउँसो नपठाउनुहोला ।”
महतले दिउँसो पठाउँदा प्रमाणीकरण नहुने समेत बताए । राष्ट्रपति कार्यालयलाई बानी परेको भन्दै उनले दिउँसो पठाउँदा प्रमाणीकरण नहुने भएकाले राति पठाउन आग्रह गरे ।
राष्ट्रपतिले पुनर्विचारका लागि पठाएको विधेयक आजै पारित गर्ने तयारी छ ।