मनसुन छिट्टै सक्रिय भए पनि मल अभावका कारण देशभर ४५ प्रतिशतमात्र रोपाइँ
मनसुन छिटै सक्रिय भएकाले देशभर यतिबेलासम्म आधाभन्दा बढी रोपाइँ भइसक्ने अनुमान थियो। तर यो वर्ष देशभर मात्र ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यसपटक किसानले बेलामा पर्याप्त मल नपाएकाले रोपाइँ ढिला भएको हो। सरकारले छिटो मल भित्र्याउने र सहज वितरण हुने दाबीअनुसार काम नगर्दा असर रोपाइँमा परेको हो। मनसुन केही ढिला सुरु भए पनि गत वर्ष यही अवधिमा रोपाइँ ५५ प्रतिशत पुगेको थियो।
कृषि मन्त्रालयले असार १५ पछि रासायनिक मल सहज हुने भनेको थियो। तर, असार सकिन एक साता बाँकी रहँदासम्म मल वितरण सहज हुन सकेको छैन।
सरकारले परम्पारागत तरिकाले फेरि साल्ट ट्रेडिङ र कृषि सामाग्री कम्पनीलाई मल भित्र्याउने जिम्मा दिएको छ। मुलुकलाई आवश्यकमध्ये ७० प्रतिशत कृषि सामाग्री र ३० प्रतिशत साल्ट ट्रेडिङले भित्र्याउने भएका हुन्। साल्ट ट्रेडिङले २ वर्षपछि मल ल्याउन लागेको हो। अघिल्ला दुई वर्ष आयातको कोटा पाए पनि टेन्डर खुलाउँदै महँगो भनेर चुपचाप बसेको थियो।
यतिबेला साल्ट ट्रेडिङ कर्पोरेसनले करिब ४२ हजार मेट्रिक टन युरिया र डीएपी मल ग्लोबल टेण्डरमार्फत आयात गरिरहेको छ। जसमा २० हजार टन डीएपी केही दिनअघि ल्याएर वितरण भइसकेको जनाएको छ। बाँकी २२ हजार टन युरियामध्ये अधिकांश आइसकेको कृषि मन्त्रालयले जनाएको छ।
साल्ट ट्रेडिङले कोलकाता बन्दरगाह हुँदै ल्याएको युरियामध्ये केही मात्र आउन बाँकी रहेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले बताए। लोड, अनलोड र ढुवानीका कारणले तोकिएको समयमा मल आउन नसकेको हो, उनले भने, आएका मल प्रदेशअन्तर्गत वितरण भइसकेकाले यसपटक पोहोरपरार जस्तो अभाव चुलिएको छैन।
बर्खे बाली अर्थात धान रोप्ने समयको लागि करिब १ लाख २० हजार मेट्रिक टन मल आवश्यक पर्छ। अब कृषि सामाग्री कम्पनी लिमिटेडले पनि साउन पहिलो साता भित्रिने गरि ३० हजार मेट्रिक टन युरिया ल्याउन लागेको छ। यतिबेला कृषि सामग्रीसँग ५ हजार मेट्रिक टन युरिया, ११ हजार मेट्रिक टन डीएपी र ६ हजार टन पोटास स्टक छ।
अहिले करिब ८० देखि ९० हजार टन मल व्यवस्थापन हुने देखिएको उनको भनाइ छ। ग्लोबल टेण्डरमार्फतका अरु पनि मल पाइपलाइनमा छन्। चालु वर्षका लागि १ लाख ४२ हजार मेट्रिक टन ल्याउने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ।