समृद्धिका लागि विकास प्रशासन
विकास प्रशासनको ठोस अवधारणा सन् १९६० को दशकबाट आएको हो । यो अवधारणा खास गरी गरीब र विकासोन्मुख मुलुकको आर्थिक विकासका लागि ध्वस्त भएका संरचनाको पुनर्निर्माण, स्थानीय स्रोतसाधनको समुचित उपयोग गर्नुपर्ने आवश्यकता र यसका लागि क्षमता, प्रविधि र शैलीमा परिवर्तन गर्नुपर्ने जरुरी भएको सन्दर्भमा आएको हो । यस्तो परिवर्तन परम्परागत प्रशासनबाट सम्भव नहुनेदेखि खासगरी गरीब र विकासोन्मुख मुलुकको विकासका लागि विकास प्रशासनको सन्दर्भ अगाडि बढाइएको थियो ।
तत्कालीन समयमा विकास प्रशासनको सन्दर्भ अगाडि आउनुमा अर्को प्रमुख पक्ष हो स् आर्थिक मन्दी, दोस्रो विश्वयुद्धको प्रभाव, संयुक्त राष्ट्रसंघद्वारा विकासशील देशका लागि अगाडि सारिएका आर्थिक तथा पूर्वाधार सहायता, शीतयुद्धको उत्कर्ष, विकासका विषयमा बढिरहेको प्रतिस्पर्धा, आपसी सहयोग तथा समन्वय, नयाँ सोच र प्रविधि आदि थिए । विकास प्रशासनले आम मानिसको विकास प्रतिको लगाव र विश्व नेतामा देखिएको विकासप्रतिको प्रतिबद्धतालार्ई ‘रिफलेक्ट’ गरेको थियो । सारमा भन्दा विकास प्रशासनको ध्येय राष्ट्र निर्माण, आर्थिक समृद्धि र सामाजिक समुन्नति थियो ।
विकास प्रशासनलार्ई सार्वजनिक प्रशासनको एक पक्षका रूपमा अंगीकार गरिएको छ । परम्परागत प्रशासन विविध खाले काम र समस्यामा जेलिँदै गएपछि र विकासका विभिन्न पक्षमा अवरोध सृजना भएपछि ती समस्याको निराकरण स्वरूप विकास प्रशासनको थालनी भयो । विकास प्रशासनले राष्ट्र निर्माण, आर्थिक वृद्धि र सामाजिक परिवर्तनको सिद्धान्त अंगीकार गरेको पाइन्छ । विकास प्रशासनका पिता मानिने इज्वार्ड वाइडनर लेख्छन् ‘विकास भनेको कार्यमूलक र लक्ष्यमूलक प्रशासन पद्धति हो ।’
विकास प्रशासनको लोकप्रियता चुलिनुमा खासगरी विकास प्रशासनको मुख्य लक्ष्य नै विकास व्यवस्थापन रहने, त्यस्तै यसमा जनसहभागिता, जवाफदेहिता, पारदर्शिता र उतरदायी हुने, विकास प्रशासनको जग नै लोकतान्त्रिक र समावेशी हुने आदि रहन्छ । विकास प्रशासन एक बहुआयमिक विषय हो । विद्वान्हरूका मतमा विकास प्रशासनका मूल क्षेत्रहरूमा ग्रामीण विकास, सामुदायिक विकास, शहरी विकास, प्रशासन विकास, कर्मचारी विकास, आर्थिक विकास, सांस्कृतिक विकास, परियोजना व्यवस्था र वातावरण संयोजन आदि पर्छन् । पछिल्लो समयमा विकास प्रशासनले पनि दिगो विकासका मान्यतालार्ई आफनो मार्गदर्शनका रूपमा स्वीकार गरिरहेको छ ।
नेपालमा पनि विकास र विकास प्रशासन र यसको आवश्यकताबारे समय–समयमा चासो र कार्यक्रमहरू हुने गरेका छन् । विकासका सन्दर्भमा हेर्दा १९५० पछिको त्यो तिर्सना अझै पूरा नभएको भन्न सकिन्छ । साथै विभिन्न समयमा भएका सामाजिक, राजनीतिक आन्दोलनले विकासको प्यास बढाए पनि त्यसको सहज पूर्ति भने नभएको विदितै छ तर पनि केचाहिँ हो भने विकासको बहस र कार्य ढिलो तर निरन्तर रूपमा अगाडि बढ्दै आएको छ । नेपालमा विकास प्रशासनको मार्ग समयसमयमा अवरुद्ध भए पनि निरन्तरता भने यसले अवलम्बन गरेको छ । २०५२ सालमा नेपालमा शुरू भएको आन्तरिक द्वन्द्वका कारण विकास नराम्रोसँग प्रभावित भयो ।
नेपाल गाँउ नै गाँउले बनेको देश हो र विकास प्रशासनको पहिलो क्षेत्र र सरोकार पनि ग्रामीण विकास हो । सामान्य बुझाइमा पनि गाँउमा बस्ने अधिकांश मानिसहरू गरीब हुन्छन् र तिनीहरूको राज्यका कुनै पनि निकायमा सहज पहुँच स्थापित भएको हुँदैन । अर्कोतिर विकासोन्मुख देशमा प्रशासन संचालकहरूको प्रवृत्ति के हुन्छ भने उनीहरू सुविधाभोगी र सुगमभोगी हुन्छन् ।
विकास प्रशासनले के मान्यता राख्छ भने प्रत्येक कल्याणकारी सरकारले विकास प्रशासन अन्तर्गत योजना कार्यान्वयन गर्ने सिलसिलामा गाँउको उन्नतिका लागि अहम् महत्त्व र प्राथमिकता दिनुपर्छ । यदि त्यसो गरिएन भने यसले कालान्तरमा द्वन्द्व र विद्रोहको जन्म गराउँछ । यो कुरा हाम्रै हकमा पनि लागू गरी हेर्दा २०५२ सालमा शुरू भएको युद्धको प्रारम्भ तिनै ठाँउमा भए जहाँ राज्यको उपस्थिति नै थिएन् भने केन्द्रले विभेदकारी निति अख्तियार गरिरह्यो ।
विकास प्रशासनले समेटने अर्को पक्ष भनेको सामुदायिक विकास हो । गाँउको विकासमा गाँउका जन्तालार्ई प्रत्यक्ष किसिमले सहभागी बनाउने सोचले सामुदायिकताको अवधारण विकास भयो । नेपालमा सातौ योजनादेखि नै विकास प्रशासनलार्ई समेटिएको भए पनि किन यो प्रभावकारी भएन् त भन्ने सवालको जवाफ के हो भने विकासमा स्थानीय सहभागिता भएन् जसले गर्दा अपनत्व सृजना भएन र विकास नै भएन वा त्यो प्रभावकारी देखिएन ।
विकास प्रशासनको अर्को मान्यता हो, सुन्दर शहरी विकास । नेपालमा पछिल्लो समय तीव्र शहरीकरणको अवधारण अगाडि बढाइएको छ तर पूर्वाधार र विनापूर्वतयारीका साथ निर्माण गरिएका यस्ता शहरले समस्या र जोखिमहरू ओगटेको देखिन्छ । विकास प्रशासनले पूर्वतयारीका साथ निर्माण गरिने शहरीकारणले विकासका सुन्दर पक्ष समेट्ने मान्यता राख्छ र शहरलार्ई त्यस देशको सभ्यतासँग जोड्छ ।
प्रशासन सुदृढीकरण पनि विकास प्रशासनको एक पूर्वशर्त हो । नेपालको प्रशासन अहिलेको अवस्थामा यति उल्झन र जटिलताले भरिएको छ कि यसको शुरुआत र अन्त्य पहिलाउन कठिन हुन्छ । विकास प्रशासनले प्रशासन, चुस्त, दुरुस्त र पारदर्शी हुनुपर्ने र जिम्मेवारी बोधले भरिएको हुनुपर्छ भन्छ । नेपालको प्रशासन सुधारका लागि विभिन्न समयमा आयोग र समितिहरू गठन गरिएका भए पनि तिनका सिफारिश अल्पत्र पारिँदा प्रशासन सुधार नै भएन र परम्परागत प्रशासनले विकासको बदलिँदो स्वरूपलार्ई पहिलाउन नै सकेन ।
विकासको मूल ध्येय जहिले पनि अर्थिक पक्षसँग जोडिएको हुन्छ । विकास प्रशासनको मूल मान्यता के हो भने आर्थिक वृद्धिको वितरण समन्यायिक हुनुपर्छ । विकासका सबै स्रोतसाधनमा सबै जनताको उपस्थिति रहनुपर्छ । विकासले सृजना गर्ने रोजगारी, अवसर सबैलार्ई बाँडिनुपर्छ । पछिल्लो समयमा आएर हेर्ने हो भने विकासका सन्दर्भमा वातावरण संवेदनशीलता पनि देखिनै पर्छ । विकास प्रशासनले यस सन्दर्भमा दिगो विकास र यसका मान्यतालार्ई हुबहु अनुसरण गरेका छ । मानव जातिको सम्बन्ध प्रकृतिसँग सन्दर्भित रहेकाले पानीको मुहान संरक्षण, वनजंगल संरक्षण, स्वच्छ हावा, पारिस्थितिक प्रणालीको रक्षा जस्ता विषयमा ध्यान केन्द्रित रहनैपर्छ ।
नेपालका लागि विकास प्रशासनको महत्त्व धेरै अगाडिदेखि नै रहेको कुरा सरकारी दस्तावेजले पनि पुष्टि गर्छ । तर, विगतको द्वन्द्व, राजनीतिक अस्थिरता, भ्रष्टाचार, ढिलासुस्ती र अनेकखाले आन्दोलनका कारण यसको सही उपयोग भएका छैन । नेपालले अल्पविकसित मुलुकबाट बढोत्तरी गरी विकासोन्मुख मुलुकको छवि बनाउने जुन अभिलाषा राखेको छ र जसरी अहिले विकास र समृद्धिको नारा बनाइएको छ । त्यसका लागि विकास प्रशासनको अवधारणालाई आत्मसात् गर्नैपर्छ ।