पैगम्बरमाथिको विवादित टिप्पणी प्रकरण,राज्यहरुमा हिंसात्मक प्रदर्शन, राँचीमा दुईको मृत्यु
पैगम्बर मोहम्मदमाथि भारतीय जनता पार्टी (भाजपा) की पूर्व प्रवक्ता नूपुर शर्माको टिप्पणीको विरोधमा भारतका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ। यसै विषयलाई लिएर झारखण्डको राँचीमा भएको हिंसामा दुईजनाको मृत्यु भएको छ।
राँचीमा प्रहरी र प्रदर्शनकारीबिच धेरै समयसम्म झडप भएको थियो। त्यसक्रममा दर्जनौं व्यक्ति घाइते भएका थिए। हाल राँचीको हिंसा प्रभावित क्षेत्रमा कर्फ्यू लगाइएको छ। शुक्रवार बेलुकी ७ बजेदेखि शनिवार बिहान ६ बजेसम्मका लागि त्यहाँ इन्टरनेट पनि बन्द गरिएको थियो। हाल राँचीको अवस्था नियन्त्रणमा रहेको प्रहरीको दाबी छ।
शुक्रवार जुमेको नमाजपछि भारतका विभिन्न शहरमा विरोध प्रदर्शन सुरु भएको थियो। प्रदर्शन भएका कयौं स्थानमा हिंसात्मक झडप समेत भएको थियो। पैगम्बरमाथि आपत्तिजनक टिप्पणीको विरोधमा दिल्ली, उत्तर प्रदेश, पश्चिम बंगाल, तेलांगाना, महाराष्ट्र, र जम्मू कश्मीरमा समेत विरोध प्रदर्शन भएको छ।एक टेलिभिजन डिबेटमा नूपुरले पैगम्बरविरुद्ध अपमानजनक टिप्पणी गरेकी थिइन्।
हिन्दुहरुको आस्थामाथि केही व्यक्तिहरुले ठट्टा गरिरहेको भन्दै उनले पैगम्बरविरुद्ध बोलेकी थिइन्। उनको सो अभिव्यक्तिको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो। उनकै अभिव्यक्तिका कारण भारतका कयौं शहरमा प्रदर्शन समेत भएको थियो।