सरकारमा गएर गर्ने कामको योजना राजनीतिक दलहरूसँग छैन् : महामन्त्री गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारमा गएर गर्ने कामको योजना राजनीतिक दलहरूसँग नरहेको बताएका छन् ।
आइतबार काठमाडौंमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष अर्थविद् स्वर्णिम वाग्लेद्वारा लिखित पुस्तक ‘अतृप्त अवसर’ सार्वजनिक गर्दै थापाले राजनीतिक दलहरूको तयारी सरकारमा पुग्ने मात्र रहेको र सरकारमा पुगेपछि गर्ने कामको योजना नरहेको बताएका हुन् ।
उनले जतिसुकै ठूला कार्यक्रम ल्याएपनि कार्यान्वयनको नीति फितलो देखिएको भनाइ राखे । थापाले आगामी प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले बहुमत पाउने दाबी गर्दै सरकारमा गएपछिको भावी योजनाका बारेमा अहिलेदेखि तयारी थालेको उल्लेख गरे ।
कांग्रेसले बहुमत प्राप्त गर्दै गर्दा मुलुकलाई दुर्घटनामा पार्दैन भनेर कसरी आश्वस्त पार्ने भन्ने विषय प्रमुख रहेको उनको भनाइ छ ।