नगर प्रमुख श्रेष्ठको पहिलो घोषणा, बागलुङ नगरपालिकालाई एक बर्षभित्रमा बालमैत्री नगर बनाउछौं
बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले आगामी एक बर्षभित्रमा बागलुङ नगरपालिकालाई बालमैत्री नगर बनाउने घोषणा गरेका छन् । शुक्रबार पदवहाली गर्दै श्रेष्ठले २०८० सालभित्रै नगरलाई बालमैत्री नगर बनाउने बताए ।
नगरपालिकाका १४ वटै वडामा बालमैत्री संरचनाहरुको निर्माणको काम सुरु गर्न उनले कर्मचारीहरुलाई निर्देशन समेत दिए ।
बालबालिकाको अधिकार प्रति नगर जिम्मेबार भएमा मात्रै जिम्मेबार नागरिक तयार हुने श्रेष्ठले बताए । ‘हामीले एक बर्षभित्रै बालमैत्री नगर घोषणा गर्ने पहिलो निर्णय लिएका छौं’ उनले भने ‘सबैलाई मान्य हुने, सामाजिक महत्वको पहिलो निर्णय गरिएको हो, यसको कार्यान्वयनका लागि अबका हाम्रा गतिबिधि केन्द्रित हुनेछन्।’
आगामी नीति तथा कार्यक्रम र बजेटमा पहिलो निर्णय कार्यान्वयनका लागि प्राथमिकताका आधारमा कार्यक्रमहरु आउने उनले बताए । आउँदो मंगलबारका लागि पहिलो कार्यपालिका बैठक बोलाईएको जानकारी दिँदै श्रेष्ठले जनपक्षिय नीति कार्यक्रम र बजेटको तयारी सुरु भैसकेको बताए ।
निर्वाचन अघि सार्वजनिक भएको प्रतिबद्धता पत्रमा बागलुङ बजारको ढल व्यवस्थापन एक बर्षभित्रमै गरिसक्ने उल्लेख गरेका श्रेष्ठले पहिलो निर्णय भने बालअधिकारको रक्षाका क्षेत्रमा गरेका हुन् ।
नगर प्रमुख श्रेष्ठ र नगर उपप्रमुख राजु खड्काले एक कार्यक्रमका बिच शुक्रवार पदभार ग्रहण गरेका हुन् ।