सत्तारुढ दलको चुनावी गठबन्धन बालुवा र तासको घर जस्तै


नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तासको घरको संज्ञा दिएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले बालुवा र तासको घरजस्तै चुनावमा गठबन्धन पनि भताभुङ्ग हुने टिप्पणी गरे । ‘एमालेका निम्ति गठबन्धन केही होइन, केपी ओली र एमालेप्रतिको बढ्दो आकर्षणले एमालेले चुनाव जितिसकेको छ,’ पौडेलले भने ।उनले एमाले नेतृत्वमा रहँदा संघ, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा काम र आगामी योजना बनाएर चुनावमा मत माग्न जान पनि कार्यकर्तालाई निर्देशन दिए । उनले टिकट वितरणलाई लिएर असन्तुष्टि व्यक्त गर्ने छुट एमालेका कुनै कार्यकर्तालाई नभएको बताए ।

‘कोही व्यक्ति असन्तुष्टिको नाममा चुनावमा खटिँदैन, पार्टीलाई हराउन लाग्छ भने त्यो उसको निम्ति ठूलो भूल हुनेछ, पार्टीका अगाडि व्यक्ति केही होइन,’ उनले भने । उपाध्यक्ष पौडेलले चुनावमा टिकट पाउनका लागि मात्रै राजनीति नभएको बताए । ‘टिकट पाउनका लागि मात्रै राजनीति गर्नेहरू एमाले हुनै सक्दैनन्,’ उनले भने ।पौडेलले कुनै पनि खालका भ्रम र आशंका नपाली चुनावमा दिनरात खटिन पनि कार्यकर्तालाई निर्देशन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *