डडेल्धुरा कांग्रेसका निवर्तमान सभापति तथा प्रदेश सांसद कर्ण मल्ल निष्कासित
विधान विपरीत काम गरेको भन्दै नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति कर्णबहादुर मल्ललाई साधरण सदस्य समेत नरहने गरी कारबाही गरेको छ। पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै पौडेललाई हटाएको जानकारी दिएका हुन्। मल्ल प्रदेशसभा सदस्य पनि हुन्।
विज्ञप्तिमा उल्लेख छ, ‘नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ ।’
उनी महाधिवेशनदेखि पार्टी सभापति शेरबहादुर देउवासँग रुष्ट थिए। १४औँ महाधिवेशनमा देउवा पक्षले एकपक्षीय गरेको भन्दै डडेल्धुरामा उनले महाधिवेशन बहिष्कार गरेका थिए।