विश्वको सैन्य खर्च २१ खर्ब १३ अर्ब डलर ,बढी खर्च गर्ने यी पाँच देश
गत वर्ष विश्वको सैन्य खर्च २१ खर्ब १३ अर्ब डलर पुगेको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) नामक थिंक ट्यांकले यस्तो जानकारी दिएको हो ।
अमेरिका, चीन, भारत, बेलायत र रुस गत वर्ष सबैभन्दा बढी खर्च गर्ने पाँच देश हुन् । सिप्रीका अनुसार कुल सैन्य खर्च ०.७ प्रतिशतले बढेको हो ।
अमेरिका, चीन, भारत, बेलायत र रुसले कूल खर्चको ६२ प्रतिशत हिस्सा ओगटेको सिप्रीलाई उद्धृत गर्दै जर्मन टेलिभिजन च्यानल डीडब्लूको अनलाइन संस्करणले जनाएको छ ।
‘कोभिड-१९ महामारीको समयमा पनि विश्व सैन्य खर्च रेकर्ड तहमा पुगेको छ’ सिप्रीका डा. डिएगो लोपेज दा सिल्भाले भने ।
सन् २०२१ मा अमेरिकी सेनाले ८०१ अर्ब डलर खर्च गरेको जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १.४ प्रतिशतले कम हो । तर, सन् २०१२ र २०२१ बीचमा यसको सैन्य अनुसन्धान र विकास २४ प्रतिशतले बढेको कारण अमेरिकाले ‘भावी पुस्ताको प्रविधि’ मा जोड दिएको छ ।
हाल युक्रेनसँग युद्धरत रुसले गत वर्ष आफ्नो सैन्य खर्च २.९ प्रतिशतले बढाएर ६५.९ अर्ब डलर पुर्याएको थियो । सिप्रीले रुसको सैन्य खर्चमा वृद्धि भएको यो लगातार तेस्रो वर्ष भएको जनाएको छ ।