काठमाडौंमा स्थापित, यी हुन् एमालेले महानगरका मेयर र उपमेयरमा तय गरेका उम्मेदवार
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आसन्न स्थानीय तह निर्वाचनका लागि मेयर र उपमेयर पदका उमेदवारको टुंगो लगाएको छ ।शनिबार साँझ बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले महानगरपालिकाका उमेदवार तय गरेको हो ।
सचिवालय बैठकले काठमाडौं महानगरपालिकाको मेयर पदमा केशव स्थापितलाई उमेदवार बनाउने निर्णय गरेको छ । उपमेयरमा सुनीता डंगोललाई उमेदवार बनाउने निर्णय गरिएको पार्टीले जनाएको छ ।एमालेबाट वीरगन्ज महानगरको मेयरमा विजय सरावगी उमेदवार बन्नेछन् । त्यहाँ उपमेयरमा लोसपासित तालमेल गरिएको छ ।
यस्तै, भरतपुर महानगरको मेयरमा विजय सुवेदी, पोखरा महानगरको मेयरमा दीपक पौडेल र उपमेयरमा मन्जु गुरुङ, ललितपुरको मेयरमा हरिकृष्ण ब्यञ्जनकार र उपमेयरमा मन्जली शाक्य लाई उमेदवार बनाउने निर्णय गरिएको छ ।विराटनगर महानगरमा भने उमेदवार टुंगो लगाउने बाँकी छ । यस्तै, तालमेलका कारण वीरगन्जको उपमेयर र भरतपुरको उपमेयरमा नाम खाली राखिएको छ ।