सत्ता गठबन्धनमा महानगर र उपमहानगरबीच यसरी मिल्यो भागबण्डा,कसलाई कुन?


सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच महानगर र उपमहानगरबीच भागबण्डा भएको छ । पाँच दलका शीर्ष नेताले सहमतिपत्रमा हस्ताक्षर गर्दै प्रमुख र उपप्रमुखको भागबण्डा सार्वजनिक गरेका हुन् ।

सहमतिपत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार कांग्रेसले विराटनगर, काठमाडौँ र ललितपुरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद लिनेछ ।

त्यस्तै कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीको मेयर पाएको छ भने जितपुर सिमरा, घोराही र हेटौंडा उपमहानगरको उपप्रमुख पाएको छ ।

माओवादी केन्द्रले भरतपुर महानगरपालिकासहित जितपुर सिमरा र घोराही उपमहानगरपालिकाको नेतृत्व पाउने भएको छ भने ललितपुर महानगर, धरान र धनगढी उपमहानगरको उपप्रमुख पाएको छ ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको नेतृत्व पाएको छ भने काठमाडौं महानगर, इटहरी, बुटवल र तुलसिपुर उपमहानगरको उपप्रमुख दिने सहमति भएको सरकारका प्रवक्ता एवं कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

त्यस्तै जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिका र जनकपुर उपमहानगरपालिकाको मेयर पाएको भने विराटनगर तथा कलैया र नेपालगंजको उपमेयर पाएको कार्कीले जनाए ।

उनले गठबन्धनको मापदण्ड र सहमतिका आधारमा सम्बन्धित समितिहरूको बैठक बसि अविलम्व सिट बाँडफाँट तथा उम्मेद्वारहरूको चयन गर्न निर्देश गरेको बताए ।

त्यस्तै सहमति बन्न नसकेको अवस्थामा गठबन्धनभित्रै मित्रवत प्रतिष्पर्धा गर्न सकिने समझदारी बनेको कार्कीले जानकारी दिए ।

गठबन्धनको सहमति पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

तर कांग्रेसभित्र भने यसको असन्तुष्टि बढी नै देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *