५५ हात लामो यसीँ ठड्याइयो
भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्राको तेस्रो दिन बिहीबार भेलुखेलस्थित यसीँख्य टोलमा ५५ हात लामो यसीँ’ ठड्याइएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाइने उक्त लिङ्गोको टुप्पोमा प्रसादका रुपमा हरियो घाँस र फूल राखिएको हुन्छ ।
जात्रा हेर्न भेलुखेलस्थित यसीँख्यमा मानिसको ठूलो संख्यामा उपस्थिती थियो । प्रत्येक वर्ष चैत मसान्तका दिन लिङ्गो ठड्याइने सो लिङ्गो ढालिएपछि नौ दिन आठ रात लामो बिस्केट जात्रा सम्पन्न हुन्छ ।
योसिँद्योः उभ्याउन बाँधिएका आठ डोरीलाई अष्ट मात्रिकाको प्रतीक मानिन्छ । जात्रा सकिएपछि तलेजुमा दुमाजुको विशेष जात्रा र पूजा गर्ने चलन छ । यो जात्रा अगाडि लिङ्गो भैरवनाथ र भद्रकालीको रथलाई गःहिटीबाट तानेर यसिँख्य पुर्याउनुपर्ने परम्परा छ । योसिँद्योः उभ्याईसकेपछि मध्यरातमा दर्शनका लागि नवदुर्गा देवगण आउने परम्परा छ ।
लिङ्गो जात्रा हेर्नाले सुख, शान्ति, समृद्धि, सहकाल आउनुका साथै शत्रु नाश हुन्छन् भन्ने धार्मिक मान्यता रहेकाले यस जात्रालाई शत्रुहन्ता जात्रा पनि भन्ने गरिएको छ ।