राष्ट्रिय लोक दोहोरी महोत्सव –२०७८ काठमाडौँमा सुरू
राष्ट्रिय लोक दोहोरी महोत्सव-२०७८’ शनिबारदेखि काठमाडौँमा सुरु भएको छ ।
टुँडिखेलमा सुरु भएको महोत्सव चैत ३० गतेसम्म चल्नेछ । खुला दोहोरीमध्ये ठूलो पुरस्कार राशीको प्रतियोगीतासहितको महोत्सवलाई डिएआर मुभिज एण्ड फिल्मस् ईण्डष्ट्रिजले आयोजना गरेको हो ।
शनिवार महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गरेका छन् । उद्घाटन गर्दै उपराष्ट्रपति पुनले लोकगीतमा हाम्रो इतिहास, हाँसो, आँशु, पीडा, परिस्थिति कलात्मक तरिकाले प्रस्तुति हुने भएकाले लोकगीत जीवनको वास्तविक अभिव्यक्ति भएको बताए । ‘विभिन्न जातजाती, भूगोल, धर्म संस्कृतिमा गाइने लोकगीत संगीत देशको अमूल्य सम्पत्ति हो’ उपराष्ट्रपति पुनले भने ।
कुनैबेला गाउँका मेला-पात, वनजंगल, रोधी, विवाह लगायतमा गुञ्जने लोकदोहोरी आज सहर हुँदै अन्तराष्ट्रियकरण भइरहेको उनको बुझाइ थियो ।
प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट सहभागी ६७ समूहबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने समूहलाई ५ लाख रुपैयाँसहित पुरस्कार प्रदान गरिने छ। त्यस्तै, द्वितीय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः तीन लाख, दुई लाख र एक लाख रुपैयाँसहित पुरस्कार पाउनेछन्।
प्रतियोगितामा उत्कृष्ट गायक तथा गायिकाले नगद २५ हजार र नव प्रतिभाले नगद २० हजार प्राप्त गर्नेछन्।