लामो दूरीका सवारीमा भाडादर समायोजन गरिने ,११ देखि १४ प्रतिशतसम्म भाडादर वृद्धि हुनसक्ने
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय लामो दूरीका सवारीसाधनमा भाडा समायोजन गर्न स्वीकृति दिएको छ । मन्त्रालयले बिहीबार यातायात व्यवस्था विभागलाई
वैज्ञानिक भाडादरका आधारमा नयाँ भाडादर कायमका लागि सैद्धान्तिक सहमति दिएको हो । हाल कायम रहेको भाडादरमा ११ देखि १४ प्रतिशतसम्म भाडादर वृद्धि हुनसक्ने विभागका महानिर्देशक नमराज घिमिरेले बताए । राष्ट्रिय लामा दूरीका सवारीसाधनमा भाडादर समायोजन गर्न लागिएको र त्यसमा बस, ट्रक पहाड र ट्रक तराई गरी तीन प्रकारका सवारीसाधन रहेको विभागले जनाएको छ ।
यसअघि भाडा समायोजन गर्न विभागले सैद्धान्तिक सहमतिका लागि मन्त्रालय फाइल पठाएको थियो । बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले निर्णय गरेपछि पुनःफाइल विभाग पुगेको छ । आइतबार प्राविधिकले सूत्रका आधारमा कुन रुटमा कति भाडा कायम गर्ने भनी निर्णय गर्ने महानिर्देशक घिमिरेले बताए ।