आठ महिनामा एक लाख ३५ हजार केजी चाँदी आयात
चालू आर्थिक वर्षको आठ महिनामा एक लाख ३५ हजार ३७० केजी चाँदी आयात भएको छ । जसबाट यस अवधिमा एक अर्ब २१ करोड १० लाख ६० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको तथ्यांक अनुसार चीन, हङकङ, भारत, इन्डोनेसिया, सिंगापुर, स्वीट्जरल्याण्ड, टर्की र युएईबाट नेपालमा चाँदी आउने गरेको छ । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा २६ हजार २ सय केजी चाँदी नेपाल भित्रिएको छ । जसबाट सरकारलाई २२ करोड २७ लाख रुपैयाँ राजश्व प्राप्त भएको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार चालू आवको भदौ महिनामा सबैभन्दा बढी चाँदी नेपाल भित्रिएको छ । यस महिना ४२ हजार ९५२ केजी चाँदी आयात भएको छ । जसबाट सरकारलाई ३६ करोड ५० लाख ९२ हजार रुपैयाँ राजश्व प्राप्त भएको छ ।
त्यस्तै, असोज महिनामा ३८ हजार ७५७ केजी चाँदी आयात हुँदा ३२ करोड ९४ लाख ३५ हजार राजश्व संकलन भएको छ । कात्तिक महिनामा २१ हजार ५ सय केजी चाँदी आयात भएको छ । जसबाट सरकारलाई २३ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ । तर, कात्तिकमहिनाको तुलनामा मंसिर महिनामा भने चाँदी आयात घटेको देखिन्छ । यस महिना तीन हजार केजी मात्र चाँदी आयात भएको छ । जसबाट तीन करोड २१ लाख राजस्व संकलन भएको छ ।