सामान्य लक्ष्य पनि पछ्याउन नसक्दा ४८ रनको हार


आईसीसी विश्वकप क्रिकेट लिगअन्तर्गत शुक्रबार भएको खेलमा यूएईसँग नेपाल पराजित भएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी त्रिकोणात्मक शृंखलामा नेपाल घरेलु टोलीसँग ४८ रनले पराजित भएको हो ।दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एक सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा एक सय २० रनमै समेटियो ।

यूएईविरुद्ध पनि नेपालको ब्याटिङ चलेन । नेपालका रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए । यसबाहेक ज्ञानेन्द्र मल्लले २८ र कुशल भुर्तेलले ११ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।नेपाललाई सस्तोमा समेट्न यूएईका बसिल हमेदले सर्वाधिक चार विकेट लिए । पाँच ओभर बलिङ गरेका हमेदले एक मेडन राख्दै १५ रन खर्चिए ।यस्तै, जुनैद सिद्धिकीले दुई विकेट लिँदा जहुर खान र रोहन मुस्तफाको नाममा एक–एक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङमा आएको यूएईले ४६.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ६८ रनको योगफल तयार गरेको थियो ।यूएईका चुन्दाङ्गापोइल रिजवान र रोहन मुस्तफाले समान ४० रन बनाएका थिए । यस्तै, ओपनर मुहम्मद वसिमले २१, कासिफ दाउदले १८ र बसिल हमेदले १४ रन बनाएका थिए ।

नेपालका सोमपाल कामीले चार विकेट लिएका थिए । यसबाहेक करण केसीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले समान एक विकेट लिएका थिए ।यसअघि शृंखलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई दुई विकेटले हराएको थियो ।

डिभिजन २ मा १० खेलबाट १० अंक जोडेको नेपाल तालिकाको छैटौँ स्थानमा छ । यस्तै, तालिकाको दोस्रो स्थानमा रहेको यूएईले १६ खेलबाट २० अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *