वसन्तपुर डबली भत्काएर नयाँ कङ्क्रिटको संरचना,पुरातत्व विभागको पत्रलाई बेवास्ता


काठमाडौं महानगरपालिकाले पुरातत्व विभागको पत्रलाई बेवास्ता गर्दै हनुमानढोका दरबार क्षेत्रको वसन्तपुर डबली भत्काएर नयाँ कङ्क्रिटको संरचना बनाएको छ ।

आठवटा ३५ फिट अग्लो झण्डा राख्ने प्रयोजनले महानगरले डबली मासेर ट्याङ्की आकारका संरचना बनाएको छ ।पुरातत्व विभागसँग समन्वय नगरी डबली भत्काएर महानगरले मनपरी ढङ्गबाट संरचना निर्माण गरेको भन्दै विभागले उक्त काम तत्काल रोकेर समन्वय गर्न गत फागुन ६ गते महानगरलाई पत्र काटेको थियो । तर, विभागको पत्रलाई बेवास्ता गर्दै महानगरले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर डबलीमा कङ्क्रिटको संरचना निर्माण गरेको हो ।

काठमाडौं उपत्यकाका विश्व सम्पदा स्थललाई खतराको सूचीमा राख्न वर्ल्ड हेरिटेज कमिटीबाट पटक पटक प्रस्ताव राख्दै आएको छ । नेपाल सरकारले उक्त प्रस्ताव अस्वीकार गर्दै आएको विभागले जनाएको छ । यस हिसाबले विश्वसम्पदा स्थल संरक्षण एवं व्यवस्थापनविपरीत हुने हुँदा समन्वय गर्न विभागले अनुरोध गर्दै आएको छ । तर महानगरले बेवास्ता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *