द्रुतमार्गको गुणस्तर र समयसीमाको हेक्का राख्न निर्देशन
प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले निर्माणाधीन काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाको स्थलगत निरीक्षण गरेका छन्। उनीहरूले मख्खुवेशी, सिस्नेरी, महादेवटार, लेनडाँडा र बुदुने रानीसेरास्थित शिविर र सडकखण्डको कार्य प्रगतिबारे स्थलगत जानकारी लिएका हुन्।मुुलुकको राष्ट्रिय गौरवका आयोजनामध्ये सबैभन्दा उच्च प्राथमिकतामा रहेको उक्त आयोजना नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको छ । निर्माणाधीन महादेवटार सुरुङ खण्ड (प्याकेज एक) र लेनडाँडा–धेद्रे सुरुङ खण्ड (प्याकेज २) ठेक्का सम्झौताअनुरूप अधिकतम जनशक्ति र आवश्यक मेशिनरी उपकरणको परिचालन गर्दै गुणस्तर कायम गरी समयसीमाभित्र कार्य जिम्मेवारी पूरा गर्न उहाँहरूले ठेकेदार, परामर्शदाता र परियोजना पदाधिकारीलाई निर्देशन दिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
प्रधान सेनापति शर्मा र सचिव शर्माले परियोजना गुणस्तर निरन्तर अनुगमन र नियमन गर्न आयोजना प्रमुख तथा अन्तर्राष्ट्रिय परामर्शदातालाई समेत विशेष निर्देशन दिए । सो अवसरमा प्रधानसेनापति शर्माले द्रुतमार्ग आसपासमा बस्ने प्रत्यक्ष/अप्रत्यक्षरूपमा प्रभावित स्थानीय समुदायलाई परियोजनाबाट समुदायलाई हुने लाभबारे विस्तृतरूपमा जानकारीसमेत गराए। आयोजनालाई समुदायसमेतको सामूहिक सहभागिता/स्वामित्वमा सञ्चालन गर्न आवश्यक पहल गर्नसमेत सम्बन्धित पदाधिकारी, परामर्शदाता, ठेकेदार एवं तैनाथी भएका प्राविधिक फौजको ध्यानाकर्षण गराइएको थियो ।