सुनको आयातमा कडाई, अब दैनिक १० किलोग्राम मात्र ल्याउन पाइने
अबदेखि नेपालमा दैनिक १० किलो मात्रै सुन आयात गर्न पाईने भएको छ । नेपाल राष्ट्र बैंकले आईतबार एक परिपत्र जारी गर्दै सुन आयातको कोटा घटाएको हो ।यसअघि दैनिक २० किलोसम्म सुन आयात गर्न पाईने व्यवस्था थियो । यस्तो हुँदापनि व्यवसायीहरुले सुनको पुर्ति गर्न नसकेको बताउँदै आएका थिए ।
व्यवसायीहरुले सुन आयातको कोटा बढाउन बेलाबेलामा राष्ट्र बैंकमा लबिङसमेत गर्ने गरेका छन् । आईतबार अन्तरराष्ट्रिय बजारसँगै नेपालमा समेत सुनको मूल्य बढेसँगै राष्ट्र बैंकले आयात कोटा घटाएको हो ।यसअघि राष्ट्र बैंकले पहिलो चरणको लकडाउनमा पनि अर्थतन्त्रमा नकारात्मक असर पर्ने भन्दै सुन आयातको कोटा २० बाट घटाएर १० किलो पुर्याएको थियो । त्यसपश्चात अर्थतन्त्र चलायमान भएपछि पुनः बढाएर दैनिक २० किलो आयात गर्न पाउने पुरानै व्यवस्थालाई निरन्तरता दिएको थियो ।