अझै बैंकिङ पहुँच बाहिर छन् यी तिन गाउँपालिका,सरकारको लक्ष्य अधुरै
चालू आवको पुससम्म तीन वटा स्थानीय तहमा अझै बैंकका शाखा पुगेका छैनन् । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष २०७८/७९ पुससम्ममा धादिङको रुवी भ्याल्ली, जाजरकोटको जुनिचाँदे र बझाङको साइपाल गाउँपालिकामा अझै बैंकका शाखा विस्तार हुन सकेका छैनन् ।
सरकारले आव २०७४/७५ को बजेटमा नै ७५३ ओटै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पु¥याउने लक्ष्य राखेको थियो ।
तर, उक्त आवको अन्त्यसम्म ६३१ स्थानीय तहमा मात्र बैंक शाखा पुुगेका थिए । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई स्थानीय तहमा शाखा खोल्ने वाध्यकारी नीति बनाएपछि बैंकहरुले सम्भवत आफ्नो भागमा परेका स्थानीय तहमा शाखा विस्तार गरिसकेका छन् । यी तीन स्थानीय तहमा पनि चाँडै नै शाखा विस्तार हुने नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।