नयाँ सारथी लघुवित्तको लाभांश घोषणा
नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १० गते मंगलवार बसेको संचालक समितिको बैठकले कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।कम्पनीले हाल कायम चुक्ता पुँजीको आधारमा १९ प्रतिशत बोनस शेयर र २०७७ असोज ५ गतेपछि कायम शेयरधनीलाई बोनसमा कर लाग्ने कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बोनसमा लाग्ने कर भने २०७७ साल असोज ५ गतेपछि शेयर खरिद गर्ने शेयरधनीहरुको लागि मात्र लागू हुनेछ । साविक सारथी लघुवित्त वित्तीय संस्था र नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाविच मर्जर प्रकृया सम्पन्न गरी नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट २०७७ साल असोज ५ गतेदेखि एकिकृत कारोबार सुरु गरेका थिए ।
एकिकृत कारोबारपछि कायम भएका शेयरधनीहरुले मात्र कम्पनीको बोनस शेयरका लागि कर तिर्नुपर्नेछ । त्यस अघिसम्म कायम शेयरधनीहरुले भने कर छुट पाउनेछन् ।