२१ र २२ फागुनमा हुंदैछ अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला
एभरेष्ट नेपाल कल्चर ग्रुपको आयोजनामा यही फागुन २१ र २२ गते काठमाडौंमा ११औँ संस्करणको ‘अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०७८’ हुने भएको छ ।
आयोजकले कोभिडका कारण प्रत्यक्ष सहभागिता सम्भव नहुने भएपछि भर्चुअल प्रविधिमार्फत मेलाको आयोजना गर्ने जनाएको छ । आयोजक संस्थाका अध्यक्ष रामचन्द्र कोइरालाले मेलामा नेपालसहित विश्वका ३० भन्दा बढी राष्ट्रबाट सहभागिताको लागि निश्चित भइसकेको बताए ।
उनका अनुसार यसपटक सांस्कृतिक मेलामा नेपालसहित इस्टोनिया, मेक्सिको, बंगलादेश, बोलिभिया, भारत, मलेसिया, बुल्गेरिया, कोलम्बिया, चिली, इक्युडोर, इजिप्ट, लिथ्युनिया, पेरु, फिलिपिन्स, पोल्यान्ड, पोर्चुगल, इजरायल, रोमानिया, सरबिया, सिगापुर, स्लोभाकिया, साउथ अफ्रिका, स्पेन, ताइवान, तान्जेनिया, जिम्वाबेले सहभागिता जनाउँदै छन् ।
अध्यक्ष कोइरालाले वर्तमान युवा पिँढी आफ्नो मौलिकतालाई बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेकाले अहिलेको अवस्थामा आफ्नो संस्कृति प्रवद्र्धनका निम्ती काम गर्न मेलाको आयोजना गरिएको बताए ।